वैदेशिक रोजगारीको पीडा कोही सुटकेश भरी खुसी लिएर फर्किन्छन, कोही जीवनभरको पीडा

<काठमाडौं– ६ वर्षअघि चितवन कि सामना देवकोटाले ८ कक्षाको जिल्लास्तरीय परीक्षाको तयारी गर्दै गर्दा उनका बुवा इन्द्रमणि कुवेत जाने चाजोपाजो मिलाउँदै थिए। धेरै नपढेका इन्द्रमणिका आँखा छोरीले परीक्षाको तयारी मिहिनेतसँग गरेको देखेर अनायासै रसाउँथे। आफूले धेरै पढ्न नसके पनि छोराछोरीले राम्रो ठाउँमा अनि धेरै पढून भन्ने इन्द्रमणिको सपना थियो। इन्द्रमणि छोरीलाई एसएलसीमा राम्रो अंक ल्याएर पास हुनु भन्दै आशिर्वाद दिन्छन। पढाउने खर्चको जोहो गर्न कुवेत लाग्छन्। समय आफ्नै रफ्तारमा चलिरहन्छ। राम्रो अंक ल्याएर एसएलसी पास गरेपछि सामना काठमाडौं आउँछिन उच्च शिक्षाका लागि। यो बीचमा इन्द्रमणि नेपाल आउजाउ गरिरहन्छन। छोरीले पढाईमा हासिल गरेको प्रगतिले इन्द्रमणिको छाती गर्वले ढकमक्क फुल्छ। कोही सुटकेस भरी खुसी लिएर फर्किन्छन, कोही जीवनभरको पीडाअहिले सामना बिबिए तेस्रो सेमेस्टरमा र उनको भाई सन्देश १२ कक्षामा राजधानीकै कलेजमा पढ्दैछन्। घरको सबै जिम्मेवारी भने इन्द्रमणिकी जहान कल्पनाले सम्हालेकी छिन्। घरका ४ सदस्य तीनतिर भए पनि प्रविधिले एकै ठाउँमा बाधेको थियो। तर त्यो बन्धनको डोरी लामो समय टिक्न पाएन। ११ दिनअघि अर्थात ८ डिसेम्बरका दिन कुवेतबाट आएको फोनले सामनाको शरीर आफैं काप्न थाल्छ। चम्किलो हुँदै गएको घाम एकाएक कालो बादलले ढाकी दिन्छ। इन्द्रमणिका लागि सधैं प्यारा लाग्ने छोराछोरी अनि घर परिवारका लागि सधैं प्रिय बनेका इन्द्रमणि इश्वरको प्रिय बनिदिन्छन्।

उच्च रक्तचापले इन्द्रमणिको निधन कुवेतमै हुन्छ। केही महिनापछि छुट्टिमा बुवा नेपाल फर्किंदा एयरपोर्टबाट सुटकेश गुडाउँदै लाने सामनाको सपना सीसा फुटेझैं झर्यामझुरुम फुट्छ, औंशीको रातजस्तै बनिदिन्छ अनि आकाश धर्तीमा भासिएजस्तो। बुवाले ल्याउने सुटकेश डो-याउला भन्ने सपना देखेकी सामना बाबुको निधन भएको १० दिनपछि हिजो मंगलबार परिवारका सदस्यका साथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्छिन्। र छिट्टै घर आउने खबर छोडेका बुवाको बाध्य भएर शव बुझ्छिन। सामना त एक प्रतिनिधि पात्र मात्र हुन। त्रिभुवन विमानस्थलमा हरेक दिन यस्तै वियोगका दृश्यहरु देखिन्छन्। तथ्यांक भन्छ, वैदेशिक रोजगारीमा गएका ३ नेपाली प्रत्येक दिन बाकसमा शव बनेर फर्किन्छन्।


सरकारले मंगलवार (हिजो) अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनायो। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले त श्रमिकको हितका लागि आफू ‘तोप’ बन्न तयार छु पनि भने। तर, वैदेशिक रोजगारीमा गएकामध्ये दैनिक ३ जनाको शव बाकसमा फर्किने कहालीलाग्दो अवस्थाको अन्त्य कहिले होला? वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका परिवारलाई आर्थिक सहायता दिएर मात्र सरकारको जिम्मेवारी पुरा होला र?
तस्बिरहरु:दिनेश लुइटेल

प्रतिकृया दिनुहोस्