यौन शरिरको आवश्यकता हो, सबैले सिक्नु पर्छ

–सम्झना शाक्य (मां प्रेम प्रार्थना)

प्रेम र यौनलाई नेपाली समाजमा बर्जित बिषयको रुपमा लिईन्छ । तर माया त माया हो । समाजले, धर्मले जति बर्जित गरे पनि आखिर मानिसहरु मायाको लागि भौतारिएकै छन् । लूकेर चोरेर भए पनि माया पिरती लगाएकै छन् । त्यसैले यो रोकेर रोकिने कुरा होइन बरु खुलस्त छलफल गरेर कसरी प्रेममय जीवन जिउने भनेर सिक्ने कला हो । प्रेम र यौनलाई जति दबायो यसले कुण्ठाको रुप लिन्छ र अनेक विकृति रुप बाहिर आउँछ जस्तो कि बलात्कार, हिंसा । त्यसैले आजको समाजले प्रेम र यौनको अपरिहार्यतालाई सहर्ष रुपमा स्वीकार गर्नुपर्छ ।

प्रेमका सन्दर्भमा मेरा गुरु ओशो भन्नुहुन्छ, ‘सबैले प्रेम पाएको भए कोही पनि मानिस लडाईमा जाँंदैन थिए, बिश्वमा लडाई नै हुँदैन थियो । उहाँंको भनाई कसैलाई ठीक लाग्ला, कसैलाई बेठीक । तर प्रेम सम्बन्धी हाम्रा आफ्नै सुखद अनूभूतिहरुलाई सम्झिने हो भने मेरो अनुभवमा उहाँंको भनाइ सही हो जस्तो लाग्छ । हामी जब प्रेममा हुन्छाैं , सबै कुुरा राम्रो लाग्छ । रिस पनि कम उठ्छ, आत्माबिश्वास र सृजनशीलता बढेको हुन्छ । धन नभए पनि सन्त्तुष्ट नै हुन्छौं । वास्तबमा प्रेम साच्चै नै एउटा सुखद अनूभूति हो ।

यसै सन्दर्भमा प्रेमलाई उत्सवको रुपमा मनाउंदै फेब्रुअरी महिनामा हामीले प्रेम दिवस अर्थात भ्यालेन्टाईन डे पनि मनायौं । सुन्दै रोमाञ्चक लाग्ने यो दिन हरेक प्रेमिल जोडीले एक अर्काको लागि बिशेष समय , स्थान, भोजन र उपहारको साटासाट गरी पनाउने गरेका छन् ।

साना नानीहरु पनि स्कूलमा भ्यालेन्टाइनको उत्सव मनाउंँदै उपहारहरु आदान प्रदान गर्ने गरेको पाईन्छ । कतिपय छोराछोरीहरुले अाफ्ना बृद्ध बाबा आमाहरुलाई समेत भ्यालेन्टाइन मनाइदिएका हुन्छन् । हुन त कतिपयले यसलाई पश्चिमा संस्कृतिको प्रभावले बिकृति भित्रियो भनेर चिन्ता ब्यक्त गरेको पनि पाईन्छ तर यो ‘ग्लोबलाईजेसन’को जमानामा कहाँं कसले कसलाई रोक्न सक्नु ? सबैकुरा संसार भरी आदान प्रदान हुन्छ । जे होस् मेरो बिचारमा, प्रेम दिवश मनाएको राम्रै हा े। सकेसम्म हरेक दिन उत्सबको रुपमा लिनुपर्ने हो प्रेमलाई, तर कम्तिमा पनि हामी बर्षको एक पटक जोश जांगरले प्रेम गर्छौं अाफ्ना प्रेमी /प्रेमिकालाई जुन राम्रो हो ।

यहांँहरुको जस्तै मेरो प्रेम दिवस पनि धेरै प्रेममय भयो तर अलि फरक किसिमले । यसपटक भ्यालेन्टाइनको सेरोफेरोका केही दिनहरु बोधिसत्व स्वामी आनन्द अरुणको सानिध्यमा हाम्रा गुरु ओशोको उपासना , ध्यान, भक्ति र उत्सवमा बिताउने मौका पाएँं । ओशोका प्रिय शिष्य स्वामी आनन्द अरुण जसलाई ओशो प्रेमीहरु पेमपूर्वक स्वामीजी पनि भन्छौं । वास्तबमा नेपालको आध्यात्मिक जगतमा ‘आनन्द अरुण’ सूपरिचित नाम हो । उहाँंको परिवेक्षणमा ओशो तपोवन भनेर काठमाडौं नजिकै नागार्जुनमा एउटा ध्यानकेन्द्र पनि स्थापित छ । ओशोले नै उहाँंलाई बोधिसत्व भनि उपमा दिनुभयो । बोधिसत्व भनेको जगतको उद्धार गर्न जन्मेको मानिस भन्ने बुझिन्छ । उहाँंको अाफ्नै अध्यात्मिक पृष्ठभूमिको कुरा गर्ने हो भने, उहाँं सन्तहरुको खोजी, दर्शन, सत्संग र चर्चा गर्न रुचाउनु हुन्छ । जुनकुरा उहाँंको ‘सन्तगाथा’ र ‘लोन सिकर मेनी मास्टर’ भन्ने पुस्तकहरुमा पढ्न पाइन्छ । जसमा नेपाल र भारतमा जन्मिनु भएका बिभिन्न शिद्ध पूरुषहरुको छोटो मीठो प्रेरणादायी ब्याख्या समाबेश गरिएको छ ।

नेपाल र भारत बाहेक अमेरीका, अस्ट्रेलिया, रसिया जस्ता पश्चिमी मुलुकहरुमा समेत ओशो प्रेमीहरु माझ उहांँ प्रख्यात र प्रिय हुनुहुन्छ । उहाँं संसार भरी छरिएर रहनु भएका आशो प्रेमीहरुलाई ध्यान सिकाउन, दिक्षा दिन , ओशोको सन्देश बाँढ्न देश बिदेश यात्रा गरिरहनु हुन्छ । यसै क्रममा हालै फेबवरी १० देखि १३ सम्म उहाँं ध्यान शिविरको लागि अमेरीकाको टेक्सास आउनु भएको थियो । जहाँं मैले केही दिन उहांँको सानिध्यमा बिताउने मौका पाएंँ ।

गुरू अानन्द अरूणसँग लेखिका शाक्य

आजभोलिको हतार जिन्दगीमा अध्यात्मले दैनिक जीवनमा स्थान पाउन गाह्रोे छ । तर वास्तबमा अध्यात्मको आबश्यकता यतिखेर नै बढि छ । त्यसैले हरेक दिन एक घण्टा अध्यात्मिक साधनामा बिताउनुपर्छ भन्ने कूरामा स्वामीजीले निकै नै जोड दिनु भएको थियो । स्वामीजी आउनु भएको खबर पाए पछि लगभग ८ घण्टा जति बस चढेर म उहाँंको सानिध्यमा पुँजे र शुरु भयो मेरो प्रेममय तीर्थयात्रा । उहाँंलाई देख्ने बितिकै धरधर आंखाबाट अहोभावका आँंशु झरे, एउटा हराएको बेसाहार बालकले अाफ्नाे पिताजीलाई भेटेजस्तै । सद्गुरु ओशोका प्रिय शिष्य उनी, हामीलाई पनि अाफ्नाे गुरुजस्तै लाग्छ । किनकी , उहाँं नभएको भए ओशोको ज्ञान र प्रेमको खजाना हामीलाई कस्ले पस्केर दिन्थ्योे होला ? उहाँंलाई भेटेको एक दुई दिन त अहोभावले रोएरै बिते ।

त्यसपछि फुर्केको फुर्क्यै । अनि नाचेको नाचेकै, हाँंसेको हाँसेकै । आखिर तेही रहेछ, ध्यान एउटा जिउने कला, भक्तिमा बग्यो, मौनतामा मिल्यो, अहंकार पोखियो, कृतज्ञता बटुल्यो । आफूजस्तै प्यारा सन्यासी साथीहरुको मादक मरुन रंगमा एकैनाश भएर बिलाईयो । गुरुको निरंतर प्रेम बर्षामा निथु्रक्क भिजियो । सपना हो कि, कल्पना हो कि, सांँच्चै पो हो कि , केहि समय अस्तित्वसंँग एकाकार भए जस्तो । अन्तमा, साथीहरुले ल ल फोटो खिचौं, फेरि भेटौलौ हैं भनेपछ पो झल्यांस भयो । अहो चार दिन त कति छिटो बितेछ है ? फर्किने बेला पो भएछ मनै नलागे पनि । उहाँंको सानिध्यमा बिताएका मीठा पलहरुलाई मनभित्र प्रसादको रुपमा पोको पारेर फेरि बसमा हुँइकिँदै आफ्नै ठाउँ फर्किएँ ।

सत्संगको क्रममा मैलै उहाँंसँंग केही प्रश्नहरु गर्ने मौका पाएंँ । ती मध्ये मेरो एक प्रश्न थियो, स्वामीजी प्रेम दिवस नजिँकिंदै छ , यस उपलक्ष्यमा सम्पूर्ण प्रेमी–प्रेमिकाहरुलाई यहाँंको सन्देश के छ ? उहाँंले यसको मिठो जवाफ दिनूभयो । त्यही वार्तालापको आधारमा प्रेम सम्बन्धी केही मीठो गन्थनमन्थ संरचात्मक ढंगबाट यहाँंहरु समक्ष पस्केको छु ।

प्रेमको उर्जाः स्वामीजीले मानवजीवनमा प्रेमलाई एइउटा उर्जाको रुपमा ब्याख्या गर्नु भयो । उहाँंले एक जना चिकित्सकको नाम पनि उल्लेख गर्नुभयो ,डा. डिन ओर्डिन । डा. ओर्डिन एक चिकित्सक तथा सन्त सच्च्चितानन्दको शिष्य हुनुहुन्छ । उनले लभ एण्ड सर्भाइभल भन्ने एउटा पुस्तक लेख्नुभएको छ । उक्त पुस्तकमा उनले प्रेममय सम्बन्धले बिरामीहरु पनि छिटो निको हुने पाईयो । त्यसतै उहांले हनिमुन इफेक्ट भन्ने एउटा पुस्तकको पनि उल्लेख गर्नुभयो जसमा उनले हनिमुनको समयमा मानिसहरु कम बिरामी हुने कुरा उल्लेख गरिएको छ । स्वामी जी बडो जोड दिएर भन्नुहुन्छ, प्रेम आत्माको भोजन हो । यसले हाम्रो सूक्ष्म शरिरलाई (प्राणिक बडि) उर्जा दिन्छ । प्रेमको अवस्थामा मानिसको कार्यक्षमता पनि उच्च रहने हुन्छ ।

प्रेम र स्वतन्त्रताः ओशोका सन्यासीहरु पे्रेमका सम्बन्धमा निकै नै उदार हुन्छन् । प्रेम गर्ने हक र स्वतन्त्रता सबैको हुन्छ । बास्तबमा सांँचो प्रेमले नै अध्यात्ममा दोहोर्याउँछ । प्रेमले अध्यात्मिक यात्रालाई कुनै पनि हानी गर्दैन बरु सहायता गर्दछ । तर प्रेमलाई बूझ्नु पर्दछ । तर जसलाई हामी प्रेम भनिरहेका छाैं, के त्यो प्रेम हो त ? कतै हामी प्रेमका नाममा पकड त गरिरहेका छैैनौं ? हामीले कति सुनेका छौं ? प्रेम बियोगमा मानिसले आत्महत्या गर्यो रे , फलानालाई उनको प्रेमीले तेजाब हालेर मारिदियो रे , फलाना प्रेमीले फलानालाई फिल्मी शैलीमा प्रेमिकाको हत्या गरिदियो रे ।

के यो प्रेम हो त ? प्रेमको नाममा हिंशा भएको हैन त ? कतिपय अवस्थामा त संचारमाध्यममा पनि यस्ता बिषयको गम्भीरता नबुझी खबर सम्पे्रषण हुन्छ । यस्ता घटनाहरुको गम्भीरतालाई सामान्य बनाउन खोजिएको हुनछ । जस्तो कि फिल्मी शैलीमा भनेपछि मानिसहरुलाई यो घटना रमाइलो लाग्न सक्छ । त्यसैले प्रेम स्वतन्त्रता हो । पहिलो कुरा, प्रेम गर्ने सबै प्राणि स्वतन्त्र छ । यो स्वतः स्फूर्त हुने घटना हो । दोस्रो कुरा, मानिस प्रेममा स्वतन्त्र हुनुपर्छ । प्रेमको नाममा एकले अर्कालाई बाँध्ने काम गर्नुुहुँदैन । यदि तपाई अाफ्नाे प्रेमीलाई ढँट्नुहुन्छ भने तपाईं प्रेमीसँग डराउनु हुन्छ, तपाईको प्रेमीलाई मन पर्दैन भने कुनै पनि चाहना दबाइ राख्नु भएको छ भने त्यो शुद्ध प्रेम हुन सक्दैन ।

प्रेम र यौनः यौन शरिरको आबश्यकता मात्र नभएर एउटा प्रेमको कला हो र यो सबैले सिक्नुपर्छ । जब मानिस १४/ १५ बर्षको हुन्छ, उसलाई यौनको आबश्यकता महशुस हुन्छ । किशोरावस्थामा हर्मोनले पनि यौन प्रति धेर्र आकर्षित गराईदिन्छ । यस प्रसंगमा स्वामी जीले हर्मोनले हाइज्याक गर्दा हामी मूर्खकाम पनि गर्छौैैं भनेर खुब हसाउनु भयो । हुन पनि हो बैंशले कुतकुत्याएपछि हामी गलत काम पनि गर्छौं । नेपालका सन्दर्भमा यस सम्बन्धी छलफल गर्ने स्थान तथा परिस्थिति छैन । परिवार तथा समाजमा यो सधैं बर्जित बिषय भएको हुनाले मातापिताले भन्न पनि नमिलेको र छोराछोरीले सोध्न नमिलको विषय नै हो । यस बिषयमा नानीहरुले कहाँंबाट जानकारी पाउने त यो पनि अप्ठ्यारो विषय नै छ । फेरि प्रेम र यौन सम्बन्धी पढाउने कुनै विश्व बिद्यालय पनि त छैन ।

सहि श्रोतबाट सिक्न नपाउंँदा मानिसहरुले गलत ठाउँबाट सिक्छ, जस्तो पोर्नोग्राफी । आजकल हातहातमा मोबाईल अनि निशुल्क हेर्न पाईने पोर्नोग्राफी हुन्छ । जसले गर्दा किशोर किशोरीहरुको मानसिकतामा प्रेम र यौन सम्बन्धी गलत छाप परेको हुन्छ । बिना जानकारी उत्सुकताको कारणले यौनसम्बन्ध राख्दा मान्छे अप्ठ्यारो झमेलामा फकस्ने, निको नै नहुने खालको रोगहरु लाग्ने हुन सक्छ । वास्तबमा यौन जीवनको सबैभन्दा सुखद अनूभूति हो । यसैले किशोरकिशोरीहरुलाई यौन शिक्षा दिनु एकदमै जरुरी छ

हाम्रो परम्परागत मान्यता बिबाह अगाडि यौनसम्पर्क गर्नु हुदैन भन्ने छ । तर व्यवहारमा यो लागू हुन सक्दैन भन्ने विभिन्न अध्ययनहरुले देखाइसकेको छ । नेपालकै कूरा गर्दा सन २०१२ मा प्लस टु अध्ययनरत बिद्यार्थीहरुसँंग गरिएको एक सर्वेक्षण अनूसार करिब पाँंच बिद्यार्थीहरु मध्ये एक जनाले यौनजीवनमा सकृय रहेको जानकारी दिए भने, ती यौनजीवनमा सक्रियहरु मध्ये मध्ये करिब आधाजतिले असुरक्षित यौन सम्पर्क गरेको बताए (श्रोतःखनाल पी.) ।

त्यसकारण किशोरकिशोरीहरुलाई सुरक्षित यौनबारे सिकाउनु एकदमै जरुरी छ । यौनको ईच्छा अति हुनु पनि राम्रो होइन र नहुनु पनि पनि राम्रो होइन । आजभोलि कतिपय मानिसहरुमा यौन प्रतिको चाख नै कम भएको र उत्साहको लागि भायग्रा जस्ता औषधीहरु प्रयोग गरेको पनि सुनिन्छ । जे होस् यौन प्राकृतिक हुनुपर्छ । प्रेममा आधारित हुनुपर्छ । वास्तवमै यौन एउटा सुदद अनुभूति हो । तर मानिसलाई यो थाहा नै छैन कि सम्भोगलाई कसरी सुखद बनाउने ? सायद ओशो मात्रै एक गुरु हुनुहुन्छ होला जस्ले यौन र प्रेमको बिषयमा प्रष्ट बोल्नुभयो । त्यसैले उहांँलाई धार्मिकरुपमा यौनगुरु भनि बिबादित पनि गरियो, तर धार्मिक गुरुहरु ब्रम्हचारी हुनुपर्छ भन्ने मान्यतामा केही दोष छ भन्ने कुरा त कतिपय धार्मिक गुरुहरुको गलत यौनका काण्डहरु हामीलाई थाहा भइसकेको छ । प्रेम र यौनका बिषयमा थप जानकारीका लागि ओशोको प्रबचनहरु सुन्न सकिन्छ ।

अन्तमा, शुद्धतम् प्रेमको मूलभूत आधार भनेको स्वतन्त्रता हो । प्रेमले दूई ब्यक्तिलाई एक बनाउछ । तर जसको प्रभाब बढि छ उसले सोचेको जस्तो होइन, बरु, दुवैको नैसर्गिक गुणहरु एक अर्काको छत्रछायाँमा घनिभूत भएर एउटा नयाँ मासिनको जन्म हुनु नै शुद्धतम प्रेम हो । शुद्ध प्रेममा परेको मानिस ध्यानी, ज्ञानी हुन्छ र कसैको अहित चिताउँदैन । यस्तो प्रेम पूर्णरुपमा त गुरु सँगमात्रै सम्भव छ । यद्यपि सच्चा प्रेमीहरुमा अध्यात्मको ज्योति बल्ने संभावना प्रबल रहनछ । आजको समयमा सबै प्रेमीहरुको ध्यान, योगा र प्रार्थनालाई प्रेम साट्ने नयाँ तरिकाको रुपमा सिक्न र प्रयोगमा ल्याउन जरुरी छ ।

प्रतिकृया दिनुहोस्